जिवन, समय र सोच !
सानो हुँदा लाग्थ्यो—जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा हो: खाना, कपडा र घर। तर समय बित्दै जाँदा बुझिन कि सबैभन्दा पहिला त खाना नै हो, किनभने भोकले पोल्दा न त घरको याद आउँछ, न त लाजको होस हुन्छ। थोरै अझ अघि बढेपछि महसुस भयो—घर पनि त्यत्तिकै महत्वपूर्ण रहेछ। बास छैन भने दुनियाँ नजिकको हैन, झनै टाढाको लाग्न थाल्छ।
फेरि अनुभवले सिकायो—कपडा र शिक्षा पनि जीवनका आधार हुन्। लाज ढाक्छन्, इज्जत बनाउँछन्, आत्मबल दिन्छन्। यत्रो समयको भोगाइ र बुझाइले यत्ति मात्र होइन, धेरै कुरा सिकायो।
आजकल त लाग्न थालेको छ—जीवनमा सबैभन्दा अमूल्य कुरा त कसैको भरोसा, साथ, र निस्वार्थ समर्थन हो।
तर अहिलेको समाज कता जाँदैछ? मान्छे अब मिहिनेतभन्दा बोलीको मिठास, भावनाभन्दा देखावटी कुरा, र प्रेमभन्दा मोह रोज्न थालेका छन्। धन-दौलत चाहिन्छ, तर कति र किन?
भौतिकवादले हामीलाई वस्तु जस्तै तुलनामा ल्याइरहेको छ। अध्यात्म, आत्मबोध, मानवीय संवेदना हराउँदै गइरहेको जस्तो लाग्छ। समाजले हामीलाई निरन्तर प्रोफेसन र प्रदर्शनको दौडमा धकेल्दैछ, झुटा खुशी र झुटा आश्वासन बाँड्दैछ। तर साँच्चिकै समृद्धि भनेको त भित्रको growth, अनुभव र आत्मीय सम्बन्ध हुन्।
"More stuff = Happiness" होइन। साँचो खुशी र सन्तुष्टि त भित्रबाट आउँछ— जुन कुनै पैसा वा सामानले दिन सक्दैन। यी त केवल आत्मविकास, सच्चा सम्बन्ध र हाम्रो वरपर रहेका अमूल्य, अमूर्त उपहारहरूलाई महसुस गर्नबाट आउँछन्। त्यसैले लाग्छ समय र सोच दुवै परिवर्तनशील र गतिशील छन्। यिनैले जीवनको अर्थ, लक्ष्य र मूल्यहरू लाई समयको प्रवाह सँगै फेरिरहन्छन्।
#IchchhaDiwas #U2
Comments
Post a Comment