शान्तिको अन्तिम दीप र अहंकारको अन्धोपन
वर्षौँ वनका काँडा कुल्चेर, घाम, वर्षा र आँधी सहेर, पत्थरसँग पाइला ठोकेर पाण्डव फर्किएका थिए - हारेर होइन, आगोमा पाकेको फलामझैँ अझ बलियो भएर। कृष्ण आए हस्तिनापुर, हातमा हतियार थिएन, ओठमा युद्धको गर्जन थिएन। उनीसँग थियो केवल शान्तिको एउटा अन्तिम दीप। उनले भने - “राज्य सबै तिम्रै रहोस्, न्यायको आधा भाग देऊ। त्यो पनि भारी लाग्छ भने पाँच गाउँ मात्रै देऊ, जहाँ पाँच दाजुभाइ माटो जोतेर बाँचून्, तर आफ्नै रगतसँग तरबार नठोकून्।” सभा मौन भयो। तर अहंकारको कान हुँदैन। दुर्योधन हाँस्यो - त्यो हाँसोमा सत्ता थियो, घमण्ड थियो, र आफ्नै विनाश नदेख्ने अन्धोपन थियो। उसले भन्यो, “ सियो को टुप्पो अट्ने माटो पनि दिन्नँ।” शान्ति माग्न आएका कृष्णलाई बन्धनमा हाल्ने आदेश दियो। त्यही क्षण समयले आफ्नो दिशा बदल्यो। कृष्ण मुस्कुराएनन्। उनको आँखामा अचानक हजार सूर्य बल्न थाले, उनको स्वर गर्जियो - “जञ्जिर लिएर आएको छस्? आऊ, दुर्योधन! बाँध मलाई। तर पहिले यो खुला आकाश बाँधेर देखा, हावाको गति रोक, समुद्रका छाललाई साङ्लो लगाऊ, सूर्यलाई आफ्नो मुट्ठीमा थुना, समयल...