Thursday, December 12, 2019

Festival of Udhauli

सभ्यताको प्रारम्भदेखि नै कृषि व्यवसाय मानवजीवनका लागि एक अपरिहार्य पेसाको रुपमा रह्यो। नवपाषाण कालमा फरक फरक अन्न उत्पादन गर्ने पद्धतिको विकास भयो। साथसाथै मानवले सुस्तसुस्त रुपमा घुमन्ते जिवनशैली त्याग्दै आएका थिए। यसबाट नवपाषाण काललाई 'खाद्य उत्पादन अर्थव्यवस्था' भनेर सम्बोधन गरिएको छ।( V.Gordon Childe, Man makes Himself, New York,1951,p.59-62.) त्यसपछि नवपाषाण कालको समय पछि मानवहरु एकिकृत भएर एकैठाउँमा कटेरा, छाप्राहरुमा बसी जीवन बिताउन थाले भन्ने कुरा विद्वानहरूले उल्लेख गरेका छन्। 
हाम्रो पुर्वीय संस्कृतिले अन्नलाई ठूलो महत्वलको साथ हेरिएको छ। उपनिषदमा "अन्न  ब्रह्मेति व्याजानात्" र " स योअन्नं बह्मेत्युपास्ते" भन्दै अन्नलाई देवतातुल्य मानिएको छ। अथर्ववेद ३।२४ मा यसो भनिएको छ 
' उपहुता इह गाव उपहुता अजावय:। 
अथो अव्यस्य किलाल उपहुतो गृहेषु न:।।'

यसबाट के अनुमान गर्न मिल्छ भने वैदिक कालबाटै कृषि र पशुपालन मुख्य व्यवसाय थियो। किरातीहरुको उभौली र उधौलीले पनि प्राचीन कृषि व्यवसायलाई नै इङ्गित गरेको छ। किराती वेद मुन्धुममा कृषिसँग सम्बन्धित भूमि, जल, पहाड, वृक्ष आदि प्राकृतिक स्वरुपलाई पुज्ने बारेमा उल्लेख गरिएको छ। किराती शासनकालमै सामाजिक कार्यको थालनी राम्रो भएकोले लिच्छवि राजाहरूले काठमाडौं उपत्यकामा शासन गर्न सजिलो भयो। लिच्छवि राजाको आक्रमण पछि किरातहरु पूर्वपर्फ गएको भन्ने भनाई छ। आजभोलि उनीहरूको वसोवास ओल्लोकिरात, माझ किराँत र पल्लो किराँतमा नामकरण भएको देखिन्छ। सुनकोशी देखि लिखुखोला सम्मको क्षेत्र ओल्लोकिरात, लिखुखोला देखि अरुण सम्मको क्षेत्र माझ किराँत, अरुण देखि पुर्व मेचीसम्मको क्षेत्र पल्लो किराँत मानिएको छ। किरात समुह भित्र राई, लिम्बू, सुनुवार, याक्खा, देवान आदि पर्दछन्। 

किरात समुदायले ठुलो महत्त्वका साथ मनाउने उधौली र उभौली पर्वले कृषिजन्य उत्पादनहरूको उच्च धार्मिक महत्व बुझाउँछ। वैशाख पूर्णिमामा मनाईने "उभौली पर्व" र मङ्सिर महिनाको पूर्णिमाका दिन मनाइने "उधौली पर्व" भनिन्छ। खेतिपातिको सुरुवात गर्ने र उत्पादन राम्रो होस् भनेर पुज्ने पर्वलाई उभौली र खेतिपातिको उत्पादन घर भित्र्याई मनाईने पर्वलाई उधौली भनिन्छ। उधौलीलाई न्वागीपुजा पनि भनेर चिनिन्छ जुन नयाँ बाली संकलन गर्ने कार्यक्रम सँग सम्बन्धित छ ‌। राईहरू यसलाई "उधौली साकेला", लिम्बूहरूले " चासोक लङ्नाम्" सुनुवारहरुले"फोल प्याँदार" र याक्खाहरुले "चासुवा" भनी सम्बोधन गरेको पाइन्छ। उधौली र उभौली पर्वमा पुजिने देवीदेवताहरू प्रकृति पुजामा सम्बन्धित भएकोले किराती सभ्यता प्राचीन सभ्यताको रुपमा व्याख्या गर्न सकिन्छ।

यस्तै नेवार समुदायले पनि मङ्सिर पूर्णिमालाई योमरी पुन्हीको रुपमा मनाउने गर्दछन्। यस दिन  विशेषगरी योमरी बनाई खाने चलन छ काठमाडौंमा। उधौली र उभौली पर्वलाई किराती समुदायभित्र हर्ष उल्लासको साथ मनाइन्छ। वैशाख पूर्णिमा र मङ्सिर पूर्णिमा मनाउने  कुरामा विभिन्न जातजातिहरुमा आ-आफ्नै तोउर तरीकाले मनाएको देखिन्छ हाम्रो समाजमा, यस पूणिर्मा/चाडपर्वको सामुहिक भाव प्रस्टै रुपमा रहेको छ।