देवीहरूको कथा : शक्ति, आस्था र प्रेरणा
हाम्रो संस्कृतिमा देवीहरू केवल पूजा गर्ने पात्र मात्र होइनन्, उनीहरू जीवनका विभिन्न पक्षहरूको प्रतीक हुन्। कहिले शक्ति, कहिले ममता, कहिले विद्या र कहिले धैर्य। आज हामी लक्ष्मी, सरस्वती, पार्वती, दुर्गा र काली माताका केही अद्भुत कथाहरू सम्झनेछौं।
काली माता भन्नासाथ धेरैलाई तन्त्र-मन्त्र र जादूसँग जोडिन्छ। तर काली माता वास्तवमा हाम्रो भित्र लुकेका डर, असुरक्षा र नकारात्मक सोचलाई हराउने शक्ति हुन्।
पुराणमा रक्तबीज नामको असुरको कथा छ। उसको शरीरबाट खस्ने हरेक रगतको थोपा जमिनमा पर्दा नयाँ असुर जन्मिन्थ्यो। जसलाई मार्न देवता असमर्थ भए। अन्ततः काली माताले आफ्नो कटोरा र खड्ग लिएर युद्ध गरिन्। रगत जमिनमा नपरोस् भनेर सबै आफ्नो कटोरामा संकलन गरी असुरलाई पराजित गरिन्। यही कारण काली मातालाई शक्तिशाली र भयरहित देवी मानिन्छ।
उनको तस्वीरमा देखिने बाहिरी रूप : नरमुन्डको माला, हातमा खड्ग र कटोरा, र शिवजीको छातीमाथि पाइला राखेर बाहिर निस्किएको जिब्रो, यी सबै प्रतीक हुन् कि कहिलेकाहीँ हामी पनि आफ्नै क्रोध, डर र दुःखमा हराउँछौं। तर अन्ततः काली माता जस्तै आत्मस्मरणले हामीलाई फेरि शान्त र सचेत बनाउँछ।
धन, समृद्धि र सम्पन्नताको देवी लक्ष्मीबारे सबैलाई थाहा छ भन्ने लाग्छ। तर उनको आशीर्वाद केवल धनको हिसाबले मात्र होइन, जीवनशैलीसँग पनि जोडिएको हुन्छ। एक कथाअनुसार लक्ष्मी माता पृथ्वीमा आएर भक्तहरूलाई धन प्रदान गरिन्। तर एक वर्षपछि फर्किँदा उनले धेरैको धन खोसेर लिए। किनकि कसैले शरीर सफा गरेनन्, कसैले घर फोहोर छाडे, त कसैले आफ्नै घरकी महिलाको सम्मान गरेनन्। केवल जसले मन, शरीर, घर सबै सफा राख्यो र महिलाको इज्जत गर्यो, उसकै घरमा लक्ष्मी स्थायी बसिन्। यसबाट सिकाइ मिल्छ कि धन मात्र मागेर पुग्दैन, त्यसलाई टिकाउन शुद्धता र सम्मान आवश्यक छ।
सरस्वती ज्ञान र विद्वत्ताको प्रतीक हुन्। लक्ष्मी जस्तै चञ्चल होइनन्, एकपटक प्राप्त भएपछि जीवनभर साथ दिन्छिन्।कथाअनुसार विष्णु भगवानले लक्ष्मीलाई सम्पत्ति बाँड्ने शक्ति दिए। तर त्यो धन कहिले पनि फिर्ता लिन सक्थे। जब सरस्वतीले उपहार मागिन्, विष्णुले भने “तिमीलाई ज्ञान दिने शक्ति दिन्छु। र यो उपहार म स्वयं पनि फिर्ता लिन सक्दिन।” त्यसैले भनिन्छ, एकपटक पाएको ज्ञान, शिक्षा वा सीपलाई संसारको कुनै शक्ति खोस्न सक्दैन।
राजा दक्षकी छोरी सतीले आत्मदाह गरेपछि उनी पुनर्जन्ममा पार्वती भइन्। पार्वतीले शिवलाई आफ्नो जीवनसाथी बनाउन घोर तपस्या गरिन्। ऋषिमुनिहरूले भने “शिवलाई पाउन पृथ्वी, आकाश, वायु, अग्नि र जललाई वशमा गर्नुपर्नेछ।” पार्वतीले अटल संकल्प गरेर तपस्या गरिन् र अन्ततः शिवलाई प्राप्त गरिन्। यो कथा प्रेम र भक्ति दुवैको प्रतीक हो। सच्चा समर्पणले लक्ष्य कस्तो पनि किन नहोस्, हासिल गर्न सकिन्छ भन्ने प्रेरणा पार्वतीबाट पाइन्छ।
महिषासुरजस्तो असुरलाई पराजित गर्न देवताहरू असमर्थ भए। किनकि सबै अस्त्र-शस्त्र एउटै देवताले धारण गर्न सक्दैनथे। त्यसबेला दुर्गा देवी अवतरित भइन्। उनले शिवको त्रिशूल, विष्णुको सुदर्शन चक्र, ब्रह्माको कमण्डलसहित सबै शक्ति आफ्नो भित्र समेटिन् र महिषासुरलाई पराजित गरिन्। त्यसैले दुर्गा शक्ति र सन्तुलनको प्रतीक मानिन्छिन्। उनका नौ रूपहरूले जीवनमा करुणा, क्रोध, आशीर्वाद र दण्ड सबैलाई सन्तुलनमा राख्ने सन्देश दिन्छन्।
-
काली माता डर र नकारात्मकता हटाउने शक्ति हुन्।
-
लक्ष्मी माता सफाइ र सम्मानसँगै आउने समृद्धि हुन्।
-
सरस्वती माता विद्या र बुद्धिको अनन्त स्रोत हुन्।
-
पार्वती माता तपस्या र प्रेमको प्रतीक हुन्।
दुर्गा माता शक्ति र सन्तुलनको प्रतिरूप हुन्।
यी कथाहरूले हामीलाई सम्झाउँछन् शक्ति बाहिर होइन, भित्र पनि हुन्छ। आस्था राखौं, भक्ति गरौं, अनि जीवनमा शक्ति, ज्ञान र समृद्धि अवश्य टकसाल टिक्छ।
Comments
Post a Comment