दुर्गा सप्तशती : सत्य र दर्शनको खानी
सर्वप्रथम, तपाईं सबैलाई नवरात्रि र बडा दशैं २०८२ को मंगलमय शुभकामना।आजको ब्लगमा म दुर्गा सप्तशतीका महत्वपूर्ण शिक्षाहरूलाई हेर्ने छौं र त्यसका पछाडि लुकेका दर्शनलाई बुझ्ने प्रयास गर्नेछौं।
संसारमा त्यस्ता धेरै विश्वासहरू छैनन् जहाँ सृष्टि स्त्री शक्तिबाट भएको हो भन्ने मानिन्छ। तर सनातन धर्मले भने, भगवानलाई कहिले नारायणको पुरुष रूपमा देख्छ, त कहिले आदिशक्तिको स्त्री रूपमा। यही कारणले सनातन धर्म नै एक मात्र यस्तो परम्परा हो जसले परम तत्वको सम्भावित सबै रूपहरूको खोजी गरेको छ।यस खोजीको एक अद्भुत नतिजा हो - दुर्गा सप्तशती।७०० श्लोकमा लेखिएको यो ग्रन्थलाई सामान्य भक्तले देवी दुर्गाले विभिन्न असुरहरूको वध गरेको कथा मात्र देख्छन्। तर गहिरो साधकका लागि यो आध्यात्मिक खजाना हो; जहाँ ब्रह्माण्ड, आत्मा र मुक्तिको रहस्य लुकेको छ।
यी कथा केवल "सत्यको असत्यमाथि विजय" मात्र होइनन्। यी त हाम्रो अस्तित्वका गुप्त संकेत हुन्। यदि यी केवल कथाहरू मात्र हुन्थे भने समयको आँधीमा हराइसक्थे। तर दुर्गा सप्तशतीको दार्शनिक ज्ञान यति शक्तिशाली छ कि यसले समयको परीक्षा मात्र पार गरेन, एक विशाल शाक्त परम्पराको पनि निर्माण गर्यो।
दुर्गा सप्तशती – वेदको सार
पहिलो चरित्रलाई ऋग्वेदको रूप, दोस्रो चरित्रलाई यजुर्वेदको रूप, तेस्रो चरित्रलाई सामवेदको रूप।
प्रत्येक चरित्र सुरु हुनुअघि विनियोग र ध्यान मन्त्र दिइएको हुन्छ। यसै कारण यसलाई वेदसम्मान मानिन्छ।
ध्यान मन्त्र र बीज मन्त्र: हरेक चरित्रको सुरुवातमा एक ध्यान मन्त्र हुन्छ।
पहिलो चरित्रमा महाकाली (१० हातसहित), दोस्रो चरित्रमा महालक्ष्मी (१८ हातसहित), तेस्रो चरित्रमा महासरस्वती (८ हातसहित) लाई ध्यान गर्न भनिन्छ।
तर ध्यान मात्र होइन, पहिलो श्लोकको पहिलो अक्षरबाट बीज मन्त्र पनि निकालिएको हुन्छ।
पहिलो चरित्रमा “ऐं”, दोस्रो चरित्रमा “ह्रीं”, तेस्रो चरित्रमा “क्लीं”
यी बीज मन्त्र कुनै साधारण अक्षर होइनन्। बीज शब्दकै अर्थ हुन्छ कारण जसबाट सारा सृष्टि उत्पन्न हुन्छ। जस्तो सानो बीउबाट ठूलो रूख हुर्किन्छ, त्यस्तै यी बीज मन्त्रमा अप्रत्यक्ष शक्ति संचित हुन्छ।शाक्त दर्शन भन्छ - ब्रह्माण्ड धेरै तहको चेतनाबाट बनेको छ।सबैभन्दा माथि शुद्ध चिति (शुद्ध चेतना) हुन्छ।जब अहंकारको भाव उत्पन्न हुन्छ, तब सृष्टिको आरम्भ हुन्छ।यही प्रक्रिया क्रमशः तमस, रजस र सत्व गुणमार्फत अभिव्यक्त हुन्छ। त्यसैले, महाकाली तमसको प्रतीक (अन्धकार, विनाश), महालक्ष्मी रजसको प्रतीक (गति, क्रियाशीलता), महासरस्वती सत्वको प्रतीक (प्रकाश, ज्ञान)। र यी सबै देवी चण्डी अर्थात् आदिशक्तिबाट प्रकट भएका रूप हुन्। जसबाट महाकाली, महालक्ष्मी र महासरस्वती प्रकट हुन्छन्। वेदान्तमा जसरी परम ब्रह्मलाई इच्छाशक्ति, ज्ञान र क्रिया मा बाँडिन्छ, शाक्त दर्शनमा पनि त्यसैअनुरूप तीन रूपहरू देखाइन्छ।
Comments
Post a Comment