कथा: विरूपाक्ष
धर्मदत्त राजाका राज्यकालमा यहाँ एक विरूपाक्ष नाम गरेका किराँती थिए । जनजिवनमा जमिन देखि विस्तारै माथि निस्कने कलि भन्नेर पनि चिनिने बिरुपाक्ष। आज उनको कथा सुनाउन चाहे!
![]() |
विरूपाक्ष पशुपति आर्यघाट |
विरूपाक्ष आफ्नो घरबाट सानैमा बिरक्तिएर निस्कें। छोरा वर्षौवर्ष घर नआएपछि विरूपाक्षकी आमा विरक्त भई तिनी पनि घर छाडी परदेशमा यताउता हिँड्न, घुम्न, डूल्न थालिन् । धेरै वर्ष देशान्तर घुमिसके पछि एक दिन हिदै जादा एउटा जंगलमा बास बस्दा अचानक आमा छोराको भेट भयो । धेरै वर्षसम्म एकले अर्काको अनुहारै नदेखेपछि ती दुवैले आफूहरू आमा-छोरा हौं भनेर चिन्न सकेनन् । दुवै अपरिचित भई एकै ठाउँमा वास बसे। एकान्त ठाउँमा एक पुरुष र एक स्त्री मात्र बास बसेपछि दुवै चुम्बकले तानिए झै तानिए र सँगै बस्न पुगे । तिनीहरूको बीचमा काम-भावना जागरण भयो र सम्भोग समेत गरे । सम्भोगपछि एकले अर्काको परिचय लिंदै गएपछि आफूहरू त आमा-छोरा पो रहेछौ भन्ने कुरा अचानक थाहा भयो । दुवैलाई पश्चाताप भयो । कामतृष्णाको वशमा परेर आमा-छोराको सम्भोग भयो। - त्यसकारण पहिला हाम्राे समाज चिनजान गर्नुपर्छ भनेर कहाँ हो घर? कसको छोराछोरी? आदि इत्यादि शोधिन्छ? नयाँ ठाउमा पुगेर वा मानिस भेट्दा सोधिने प्रश्नहरूले समाजबाट चाडै नाता सम्बन्धहरू हराउन दिदैन र आफु स्वयं संयमित बनाउँछ।
यो त साहै नकाम भयो, भूल हुन गयो भनी मनमा ताप राखेर आफूले गरेको पापमोचन गर्न पशुपतिनाथको शरणमा गई 'हे पशुपतिनाथ परमेश्वर, तपाईंले ममाथि करुणा गरी अज्ञानवश गरेको पाप नाश गर्ने उपाय आज्ञा गरिदिनपयो' भनी विरूपाक्षले प्रार्थना गरे।' तामाका ठूल्ठूला बाह्रवटा डल्ला तताएर पगाली त्यसको रस पिएमा तिम्रो पाप तुरुन्त नाश हन्छ' भनी पशुपतिनाथबाट आज्ञा भयो ।
पशुपतिनाथले त्यसरी आज्ञा भएपछि विरूपाक्ष जंगलमा गई तामा पगाल्ने भाँडामा तामा पगाल्न थाले । तामा तताउँदा-तताउँदै अब त तामा पग्ल्यो होला भनी मनमा सोच्दै यसो भाँडामा हेर्न मात्र के लागेका थिए, उनको दाह्री जुङ्गा, आँखीभौं सबै जले। अनुहार के भयो भनी निर्मल पानीमा हेर्न जाँदा अनुहार विरूप भई विरूपाक्ष हुनपुगे । उक्त तामाको झोल नै पिएको भए त म आफै पो भष्म हुने रहेछु। पशुपतिनाथले मेरो पाप नाश गर्न खोजेको नभई मलाई नै नाश गर्न लागेका रहेछन, यो त भएन भनी उनी त्यहाँबाट बुद्धको शरणमा गए ।
बुद्ध सामु सबै कुरा बिसाए पछि बुद्धले - विरूपाक्षलाई निर्मल स्फटिकको एउटा माला दिई भने 'हे विरूपाक्ष तिमीले 'षदं सरी' मन्त्र पढी यो जपमाला घुमाई जप गर। यो जप माला जप्दाजप्दै खिइएर नसिद्धिएसम्म तिम्रो पाप नाश हुने छैन। जब खिइएर जान्छ, तब तिम्रो पाप नाश भई सद्धे धर्मचित्त उत्पत्ति हुनुका साथै आत्मा पनि शुद्ध भई उद्धार हुनेछ ।' बुद्धका यस्ता वचन सुनी खुसी हुँदै, जप माला लिई त्यहाँबाट वागमतीको तीरमा आश्रम बनाई बुद्धले दिएका मन्त्र मनमनै जपी माला घुमाउन थाले । धेरै दिन बितेर जाँदा पनि माला नखिइएकाले उनी त्यो आश्रम छाडी गए । त्यहाँबाट अलि पर गइसकेपछि एउटा बच्चाले नदीको तीरमा बसी ठूलो फलामको पातामा बालुवा राख्दै ढुंगामा रगड्न लागेको देखेर विरूपाक्षले सोधे 'तिमीले त्यो फलामको पाता बालुवा राख्दै ढुंगामा रगडेर के गर्न लागेको ? बच्चाले 'मैले यो लगाइराखेका लुगा पुराना भई फाट्न लागे, त्यसैले पाताको सियो बनाई लुगा टाल्न खोजेको हुँ' भन्यो । बच्चाको यो कुरा सुनेर विरूपाक्ष दंग भए। 'यस्तो फुच्चो बच्चाले त यत्रो मेहनत गरिरहेको छ भने म मात्र के कम' भनी मनमा उत्साह लिएर विरूपाक्ष पुनः एकचित्त भई जप माला घुमाउन थाले ।
![]() |
विरूपाक्ष पशुपति आर्यघाट |
जप गर्दागर्दै जपमाला खिइन थाल्यो, खिइँदै गयो । यसबाट आफ्नो कठोर पाप नाश भइदिँदा विरूपाक्ष बुद्धसँग असाध्य खुसी भए । पशुपतिनाथ संग साद्वै रिसाएर पशुपतिनाथ कहाँ गई 'तँलाई कहाँ छोड्छु' भन्दै लखेट्न थाले। पशुपतिनाथ डरले भाग्दै बुद्धको शरणमा मद्दत लिन पुगे । बुद्धले पनि विरूपाक्षले पशुपतिनाथलाई लखेट्दै ल्याएको थाहा पाई आफ्नो पञ्चबुद्ध मुकुट पशुपतिनाथलाई लगाई आफ्नै साथमा राखे।
विरूपाक्षले खोज्दै जाँदा पञ्चबुद्ध मुकुट लगाई बुद्धसँग बसिराखेको देखेर विरूपाक्ष एकदम आत्तिएर 'यो पशुपति त बुद्ध नै पो रहेछ' भनी प्रार्थना गरेर फर्किए र पशुपतिनाथको घाटमा बसे। बुद्धले आफ्नो मुकुट लगाई दिएको दिन बखुमल अष्टमी अर्थात् मुख अष्टमी हो। उक्त दिनमा वर्षको एकपटक पशुपतिनाथलाई पञ्चबुद्ध अंकित मुकुट लगाइदिने गरिन्छ यो चलन पशुपतिनाथमा चलिरहेको छ। यो कार्यलाई हामी धार्मिक सहिष्णुताको प्रतीक र धार्मिक एकता भन्छौं यो हाम्रो परम्परा हो, इतिहास हो, दुई धार्मिक अनुष्ठान गर्नेहरु बिचको मिलन हो यो नै पशुपतिनाथको ज्ञान हो।
Comments
Post a Comment